राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा शनिबार साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन्।
राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गरे। काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चन गरिएकाे छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरे । छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ ।
महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए। भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।
बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।