प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन्।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्। उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे।
प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले बुधबार नै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ।
उनले बुधबार नै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। उनी बुधबार ल्हासामै बस्नेछन्।
यसअघि प्रधानमन्त्री दाहाल मंगलबार बेइजिङबाट छिङछोङ सहर गएका थिए। छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामबारे जानकारी लिएका थिए।