स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गरेरै छाड्ने बताएका छन्।
उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताएका हुन्।
उनले भने, “नेपालका चिकित्सकसँग पढ्न विदेशी चिकित्सक आउने । नेपालका नेताहरु उपचारका लागि विदेशिने?” अहिले सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि विदेश पठाउने नीति बन्द गरेको बताउँदै उनले भने, “स्वास्थ्य क्षेत्रको बेथिति नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको छ।” स्वास्थ्य क्षेत्रमा जनताको आक्रोश रहेकाले सबै मिलेर यसलाई सुधार गर्दै लैजानुपर्ने उनको भनाइ थियो।
उपचारको अभावमा कोही नेपाली मर्नु नपर्ने गरी सरकारले काम गरेको उनले बताए। मन्त्री बस्नेतले उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको बताए। शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उहाँले संविधानमा लेखिएको कुरा निःशुल्क गर्दै जाने उल्लेख गरे। उनले भने, “विद्यार्थीले शुल्क तिर्न नसकेर आत्महत्या गर्नुपर्ने र बिरामीले उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम फाल्नुपर्ने अवस्था अन्त्य गर्न सरकार लागेको छ।” गरिब विपन्नले औषधि उपचार नपाएर मर्नुपर्ने बाध्यता नहुने उनको भनाइ थियो।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने उनको भनाइ थियो। उनले भने, “तपाईंहरु अस्पताललाई उत्कृष्ट बनाउनुस्। विस्तारको काममा सरकारले सहयोग गर्छ।” बजेट अभाव भयो भनेर पछि हट्ने काम गर्न नहुने उनको भनाइ थियो। सरकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने भन्दै उनले अहिले गाउँगाउँमा चिकित्सक पु¥याउने अभियान चलाइएको जानकारी दिए।