नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो।
जस अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजनअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन्। महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामका साथै मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्नेछन्।
त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रुपमा रहनुहुनेछ भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएको पार्टी कार्यालयले जनाएको छ। पार्टीको प्रतिष्ठानहरूअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन्।
पूर्वमन्त्री पराजुली सचिवमा मनोनित
एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ। पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुङ्गाना, लङ्क हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनित भएका छन्।