बिभिन्न दलका नेताहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकलाई अतुलनीय क्षति पुगेको बताएका छन्।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङ सवैलाई मिलाएर लान सक्ने नेता भएको स्मरण गर्दै उनीहरुले नेम्वाङको निधनले मुलुकलाई अतुलनिय क्षति पुगेको बताएका हुन्। उपप्रधान एवं गृहमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका खेलेको भन्दै स्मरण गरे।
मुलुकको परिवर्तनलाई संविधानमा समावेश गरेकाले नेम्वाङलाई नेपालको जनताले सदा सम्झना गरिरहने उनले बताए। उनले नेम्वाङको निधनले मुलुक र नेपाली समाजलाई ठूलो क्षति पुगेको जिकिर गरे। ।
त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता नभेटेको बताए। संविधान जारी गर्दा नेम्वाङले खेलेको भूमिका अत्यन्तै सह्रानीय रहेको भन्दै देशले एउटा मुख्य राजनीति नेता गुमाउनुपर्दा निकै क्षति भएको उनले बताए।
त्यस्तै एमाले सचेतक महेश बर्तौलाले नेम्वाङको निधनले राष्ट्रले अभिभावक गुमाएको बताए। त्यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकको परिवर्तनलाई संस्थागत गर्न ठूलो भूमिका खेलेको व्यक्तिको निधनले ठूलो क्षति पुगेको बताए।