नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध पूर्वराजा ज्ञानेन्द्र लागेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा युवा संघ नेपाल, प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले पञ्चायतकालमा लोकतन्त्रका लागि लड्नेहरुमाथि आक्रमण गर्ने मण्डलेहरु ब्युँताउन कोसिस भएको र त्यसमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता देखिएको आराप लगाएका हुन्। ए।
खनालले आफु सहभागी एक सार्वजनिक कार्यक्रममा सबै पार्टीको विरुद्ध र विशेषगरि आफु विरुद्ध नियोजित रुपमा आक्रमणको प्रयास भएको त्यसमा राजावादी भन्नेहरुको हात रहेको बताए। पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक गतिविधि बढ्न थालेको भन्दै खनालले राप्रपाको अध्यक्ष वनेर वा अर्को पार्टी खोलेर राजनीतिमा आउन चूनौति दिए। उनले राजनीतिक दल खोजेर आए प्रतिष्पर्धा गर्न तयार रहेको तर गुण्डागर्दी र अराजकता मच्चाएर नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखे दिवास्वप्नबाहेक केही नहुने स्पष्ट पारे।
त्यस्तै खनालले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा जनताले औला ठड्याउन ठाँउ दिन नहुने बताए। नरेन्द्र मोदीले उद्घाटन गरेको संसद भवनमा रहेको कथित अखण्ड भारतको नक्सामा नेपालको ऐतिहासिक स्थलको नाम राखिएको भन्दै उनले प्रधानमन्त्रीले देशका राष्ट्रिय हितका प्रश्नहरुलाई दृढता पूर्वक उठाउनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री खनालले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको काण्ड मात्रै नभई संगठीत अपराधका साथै देशद्रोही काण्ड भएकाले यसमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने धारणा राखे।