राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन्। सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो।
संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन्। तर दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर २० भदौमा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष पठाएका थिए।
संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिन अर्थात ५ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो। तर प्रमाणीकरण भएन। २९ फागुनमा भण्डारी शीतल निवासबाट विदा भ एपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन खोजेको थियो। कानुन व्यवसायीहरूले पनि नयाँ राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न सक्ने सुझाव दिएका थिए।