उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जस्तोसुकै काम गर्न पनि तयार हुनेहरुका कारण मुलुक अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन्।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको उपन्यास ‘कालपात्र’ सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई नतोडेसमम मुलुक बनाउन नसकिने उल्लेख गरे।
‘अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्, यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ, पार्टी र नेता नबदलिई देश बदलिंदैन, पुस्तकमा लेखकको आशय पनि यही छ, संसारका सुन्दरतम देशमध्ये औंलामा गन्न सकिनेमा नेपाल पनि पर्छ तर हामी अदक्ष कामदार खाडीमा पठाई तिनले पठाएको विप्रेषणले देश चलाइरहेका छौं’, उनले भने।
‘कालपात्र’ सार्वजनिक कार्यक्रममा उपन्यासका लेखक दाहालले राजनीतिमा मौलाएको अपराध नै उपन्यासको ििबषयवस्तु भएको बताए। मसानघाटबाट सुरु भएर मसानघाटमै ‘कालपात्र’ उपन्यास सकिने उनले सुनाए । देश, संस्था कुनै पनि तह र तप्काको नेतृत्व गर्नेले ‘कालपात्र’ उपन्यास पढ्नैपर्ने लेखक दाहालले बताए । गत वर्ष ६ महिना अमेरिका बसेका बेला उपन्यास तयार पारिएको जानकारी पनि लेखक दाहालले गराए।
पूर्वसांसद शोभाकर पराजुलीले उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण रहेको बताए। राजनीतिका नाममा नैतिकता र मानिसको व्यापार भइरहेको उनको भनाइ थियो। खराब गर्नेहरु थोरै भए पनि सङ्गठित हुँदा समाज नै भ्रष्ट भएजस्तो देखिएको उल्लेख गर्दै उनले असल मानिसको पुनरोदयका आशा उपन्यासले गरेको बताए।
उपन्यासमाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रा.डा ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यासका कथानक अघि बढेको बताए।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले आजको नेपालको यथार्थ चित्र उपन्यासमा भेट्न सकिने बताए । जन्मने, मर्ने र फेरि जन्मने पौरस्त्य दर्शनमा आधारित उपन्यासका रुपमा ‘कालपात्र’ आएको उनको विश्लेषण थियो।
दाहालको उपन्यास ‘कालपात्र’ इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले प्रकाशन गरेको हो। २०० पृष्ठको पुस्तक एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिले मुद्रण गरेको हो । उपन्यासको मूल्य रु ५२५ तोकिएको छ । दाहालको यो दोस्रो उपन्यास हो। यसअघि शान्ता उपन्यासको नेपाली र अङ्ग्रेजी संस्करण प्रकाशन भइसकेको छ।