देशले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज उपराष्ट्रपतिका लागि मतदान भएकाे छ। नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन भएकाे हो ।
संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि सुरू भएकाे मतदान अपराह्न ३ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गरेका छन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार चुनावी मैदानमा रहेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको छ। साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।
सङ्घीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् । मुलुक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिको निर्वाचन भएको थियो । पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।
यस्ताे छ पार्टी मतभार:
नेपाली कांग्रेस – १६ हजार १४२
नेकपा एमाले – १५ हजार ३१२
माओवादी केन्द्र – ७ हजार ६९७
रास्वपा – १ हजार ५०१
राप्रपा – २ हजार ४५०
जसपा – २ हजार १४५
एकीकृत समाजवादी – २ हजार ६५३
जनमत – १ हजार २४२
लोसपा – ९७१
नागरिक उन्मुक्ति – ८१३
नेमकिपा – २२३
राष्ट्रिय जनमोर्चा – २०६
हाम्रो नेपाली पार्टी – ९६
नेपाल संघीय समाजवादी – ४८
स्वतन्त्र – १ हजार १२९
रामसहायप्रसाद यादव वा प्रमिला कुमारीको पक्षमा मतभार–
कांग्रेस– १६ हजार १४२
माओवादी केन्द्र– ७ हजार ६९७
एकीकृत समाजवादी– २ हजार ६५३
जनता समाजवादी पार्टी– २ हजार १४५
राष्ट्रिय जनमोर्चा– २०६
कुल मतभार– २८ हजार ८ सय ४३
सत्ता गठबन्धनकै अर्की उम्मेदवार ममता झाको पक्षमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
ममता झाको पक्षमा मतभार
जनमत पार्टी – १ हजार २४२
लोकतान्त्रिक समाजवादी पार्टी – ९७१
नागरिक उन्मुक्ति पार्टी – ८१३
कुल मतभार – ३ हजार २६
एमालेले आफ्नी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । शाक्यलाई एमालेको मात्र साथ सहयोग रहने छ ।
एमाले– १ ५ हजार ३१२
तटस्थ वा मतदानमा सहभागी नहुने
राप्रपा– २ हजार ४५०
नेमकिपा २२३
अनिर्णित
रास्वपा– १ हजार ५०१