थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा दाेषी ठहर भई पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालत समक्ष उपस्थित गराइँदैछ ।
काठमाण्डौं आउने क्रममा हिजो नेपाल प्रहरीले बाँकेको कोहलपुरबाट उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका चौधरीलाई नेपालगञ्जबाट जहाजमा काठमाण्डौं र काठमाण्डौंबाट हिजो साँझ जहाजमै धनगढी लगिएकाे छ ।
२०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए । ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो ।