प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन्। २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले भने, “आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई÷तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उहाँले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताउनुभयो । नेपालमा बसोबास गर्ने सबै जातजातिको आ—आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।
“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो ।” मानव जातीले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सांस्कृतिक पाटोको बारेमासमेत जानकारी दिए ।
उनले चन्द्रमाको गतिको आधारमा समय गणना हुन थालेको र सोही पद्दति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछन् भने कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानको) ल्होछार पनि भन्दछन् भन्ने तथ्य स्थापित भएको प्रधानमन्त्री दाहालले बताए । “ल्होको अर्थ साल, सम्बत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो ।
यो परम्परामा विभिन्न बाह्र पशुपक्षीको नामबाट १२ ल्हो को नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ” उहाँले भन्नुभयो, “बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक–एक ल्हो फेरिन्छ । ल्हो (वर्ष) सँग खाम (पाँच तत्व)हरू—आगो, पानी, माटो, फलाम र काठसँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् ।”