प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ । प्रतिनिधिसभाको सभामुख पदका लागि दुई जनाकाे मात्र उम्मेदवारी परेको छ ।सभामुखको निर्वाचन बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।
सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेकाे उम्मेदवारी परेकालेे दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ ।
सत्तारुढ दलकाे समर्थन पाएका घिमिरे सभामुख बन्ने लगभग निश्चित जस्तैछ । न्याैपानेलाइ भने अहिलेसम्म कांग्रेसकाे मात्रै समर्थन देखिन्छ । गठबन्धन बाहेकका अन्यदलहरूले पनि समर्थन गर्ने कांग्रेसकाे विश्वास छ । सभामुखका दुबै उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आएका छन् ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले बैठक सञ्चाजन गर्दै आएका थिए ।