नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको शुक्रबार भएको चुनावमा कृष्णप्रसाद सिटौलानिकट झापाका उद्धव थापा १८ मत पाएर दलको नेता चुनिए।
शेखर कोइरालानिकट मोरङका केदार कार्की ९ मत पाएर दोस्रो भए। सभापति शेरबहादुर देउवानिकट मानिने मोरङका अमृत अर्याल जम्मा २ मत पाएर तेस्रो भए। अर्थात् अर्यालले आफ्नै समर्थक र प्रस्तावकको मत समेत पाएनन्। अर्यालको प्रस्तावक डोल्मा तामाङ र समर्थक सुनिताकुमारी चौधरी थिए। समर्थक र प्रस्तावकको मत आएको भए उनले आफूसहितको ३ मत पाउने थिए।
कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै थियो।
नतिजापछि प्रतिक्रिया दिदै अर्यालले ‘स्वाभाविक लोकतान्त्रिक अभ्यास’ भनेका छन्। अर्याल निकटहरूले सभापति देउवाले सिटौलाको कुरा सुनेर आफ्नो पुराना सहयोगीलाई धोका दिएको आरोप लगाएका छन्।
अर्याल समूहले आफूलाई समर्थन गर्ने सुनिताकुमारी चौधरीले पनि मत नदिएको दाबी गरेको छ। सुनिता कांग्रेस नेता विजय गच्छदारको परिवारकै सदस्य भएका कारण मत नआएको यो समूहको भनाइ छ।