प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना नहुने प्रष्ट पारेका छन्।
मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाउँदै थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलनमा पुनः मतगणना र मतदान नहुने बताएका हुन्।
अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध रहेको भन्दै उनले आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम नगरेको उल्लेख गरे। कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना नभएको थपलियाको भनाई थियो।