नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेसहितको प्रतिगमनकारी प्रगठबन्धनलाई परास्त गरेर हराएर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन मतदातासँग आह्वान गरेका छन्।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ द्धारा शुक्रबार बिहान मालपोत रोडमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता निधिले संविधान, संघीयता, लोकतन्त्र र समाबेशिताका लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गरेका हुन्।
नागरिकता समस्याको दीर्घकालीन हल गर्न कांग्रेसको पहलमा संसदबाट पास गरेर अघि बढाइएको नागरिकता बिधेयक एमालेको उक्साहटमा राष्टपतिले अड्काएको निधिले बताए। चुनाबपछि नागरिकता बिधेयक पारित गरेर कांग्रेसले नागरिकता सम्बन्धी समस्या हल गर्ने प्रतिबद्धता पनि जनाए।
कांग्रेस लगायतका दलहरु राजाको प्रत्यक्ष शासनका बेला लोकतन्त्रका लागि आन्दोलन गरिरहेका बेला एमाले अध्यक्ष ओलीले आन्दोलनका बिरुद्ध अभिव्यक्ति दिएको स्मरण गराउँदै नेता निधिले लोकतन्त्र बिरोधी ओली नेतृत्वको गठबन्धनमा सहभागी जसपाका उम्मेदवारलाई मत दिनु लोकतन्त्रको बिपक्षमा मत दिनु भएको उल्लेख गरे। राजा ल्याउने घोषित नीति लिएको राप्रपासँग ओलीले चुनावी गठबन्धन गरेका छन्।
कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अजय चौरसियाले एमाले नेतृत्वको गठबन्धन मधेशी जनताको अधिकार बिरोधी भएको भन्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे।
हिजो यहाँबाट जितेका जनप्रतिनिधिले जनताका पक्षमा केही काम गर्न नसकेको भन्दै उनले आफूले जितेर गएपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए। उनले रोजगारीका लागि खाडी मुलुक जानुपर्ने युवाहरुको बाध्यतालाई सम्बोधन गर्न यो क्षेत्रमा प्राबिधिक शिक्षालय खोल्ने योजना सुनाए।
त्यस अबसरमा पर्सा क्षेत्र नं २ ख का उम्मेदवार रमेश कुर्मीले जसपा नेतृत्वको वीरगञ्ज महानगरपालिकाले सत्ताको चरम दुरुपयोग गर्दै भोट बटुल्नका लागि मनपरी ढंगबाट करारमा कर्मचारी नियुक्त गरेकोमा आपत्ति जनाए।
पूर्वमन्त्री ओमप्रकाश शर्माले संघ र प्रदेश दुबै सरकार कांग्रेसको नेतृत्वमा बनाउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई मत दिनुपर्ने बताए।