सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस परिरहेको बेला गठबन्धनमा आवद्ध दल कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीभित्र पनि आन्तरिक कलह बढ्दै गएको छ ।
निर्वाचन आयोगमा असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएपछि कांग्रेसभित्र विवाद चर्चिएकाे छ ।
आसन्न निर्वाचनको लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची र प्रत्यक्षतर्फको सिट बाँडफाँटप्रति विरोध गर्दै पार्टीभित्रको संस्थापनइतर समूहले आन्दोलनको घोषणा गरेको छ ।
टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको भन्दै संस्थापनइतर समूहले सोमबार असोज १२ देखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
असन्तुष्ट समूहले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना, १३ गते विरोधसभा र १४ गतेभित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने निर्णय गरेको छ ।
समानुपातिक उम्मेदवार सूची बुझाउँदा आफ्नो पक्षलाई ४० प्रतिशत नदिएको इतर समूहको आरोप छ । पार्टीभित्रको विवाद गठबन्धनतिर लक्षित हुन थालेपछि सत्ता सहयात्री दलका नेताहरू सशंकित भएका हुन् ।
काेइराला समूहले ४० प्रतिशत मतको हैसियतअनुसारको हिस्सा समानुपातिक र प्रत्यक्ष दुवैतर्फ नपाए विद्रोह गर्ने चेतावनी दिएपछि देउवा पार्टी र गठबन्धनकाे चेपुवामा परेका छन् । राखेका छन् । उनीहरूले पार्टीमा आन्तरिक सन्तुलन भत्किए विद्रोह हुने र देशैभर गठबन्धनका उम्मेदवारलाई असहयोग हुने चेतावनी दिएका छन् ।
कांग्रेसकाे आन्तरिक कलहले माओवादी, एकीकृत समाजवादी र जसपा नेताहरू कांग्रेसप्रति ढुक्क बन्न सकिरहेका छैनन् । कांग्रेसभित्रको विवाद कायमै रहे गठबन्धनमा असर पर्ने नेताहरूले बताएका छन्।