नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले एमालेको ग्र्याण्ड डिजाइनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगरेको आरोप लगाएका छन्।
संविधान नै खतरामा पार्ने गरी दुई पटक संसद बिघटन गर्ने तत्कालीन ओली सरकारको कदमलाई आँखा चिम्लेर प्रमाणित गरेकी राष्ट्रपतिले नागरिकता समस्या समाधानका लागि सरकारले ल्याएको विधेयक प्रमाणित नगरेर राजनीतिक र कानुनी बेइमानी गरेको नेता सत्तारले बताए। उनले राष्ट्रपतिको कमदबिरुद्ध कानूनी र राजनीतिक उपचार खोज्नुपर्नेमा जोड दिए।
दुबै सदनले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लाई प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यबस्था हुँदाहुँदै राष्ट्रपतिले प्रमाणिकरण नगरेकोमा कांग्रेस केन्द्रीय सदस्य सत्तारले सरकारको आपत्ति जनाए।
नागरिकता विधेयकमा हस्ताक्षर नगरेर राष्ट्रपतिले राजनीति गर्न खोजेको उनले आरोप लगाए। नागरिकता बिहिनहरुको पीडा बल्झाएर मुलुकमा दुर्घटना निम्त्याउन खोजेको भन्दै सत्तारले नागरिकता पाउने वातावरण बनाएर मुलुकमा सरकार छ भन्ने अनुभूति दिलाउन सरकारको ध्यानाकर्षणसमेत गराए।
निर्वाचनमा पराजित हुने भयले गर्दा केपी ओलीले निर्वाचन बिथोल्न नागरिकता बिधेयक प्रमाणिकरण नगर्न राष्ट्रपतिलाई उक्साएको उनको आशंका थियो। ओली नेतृत्वको सरकारले संविधान बिपरित गरेको प्रतिनिधिसभा बिघटनलाई तत्काल सदर गर्ने राष्ट्रपतिले दुबै सदनबाट पारित गरेर पठाएको नागरिकता विधेयकमा हस्ताक्षर नगरेर सिंगो संसदको अपमान गरेको कांग्रेस केन्द्रीय सदस्य सत्तारको भनाई छ।