आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको मिति घोषणा भएपछि यतिबेला सत्ता गठबन्धनलाई सिट बाँडफाँटले सताएको छ ।एमालेसँग एक्लाएक्लै चुनावमा जान डराएका सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा जस्तै तालमेल गर्ने निर्णय गरेका छन् । फरक बिचार,सिद्धान्त र दर्शन बोकेका पार्टीहरु कुर्सी जोगाउन एक ठाउँमा उभिएका छन् ।
नमिले हारिन्छ भन्ने डरले सबैलाई एक अर्काको साथ चाहिएको छ । सिट बाँडफाँटमा कुरा मिले अनुसार गठबन्धन दलले उमेदवारी दिनेछन् । दलहरुलाई अबको चुनौती भने सिट बाँडफाँटमा देखिएको छ ।
स्थानीय तह निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले धेरै फाइदा लिएर र गठबन्धनका अन्य दलमाथि घात गरेको आरोप छ । त्यसैले त वामपन्थीहरु गठबन्धनभित्र पनि उपगठबन्धनको तयारी गरिरहेका छन् । कांग्रेस र बाम घटक गरी दुईवटा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने पनि तयारी भएको छ ।
तर स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई कमजोर बनाइएको खुसी यी दलमा छ । प्रतिनिधिसभाका १ सय ६५ सिट र प्रदेशसभाका ३ सय ३० सिटमा ५ दलबीच हुने भागबण्डाले गठबन्धनबीचको चुनावी तालमेलको निर्णय सान्दर्भिक ठहरिन्थ्यो ।
स्थानीय तहको निर्वाचन र अघिल्लो संसदीय निर्वाचनमा प्राप्त मतलाई आधार मानेर कार्यदलले सिट बाँडफाँटको ढाँचा तयार गर्नेछ । माओवादी र एकीकृत समाजवादीभित्रको एउटा समूहले अझै पनि बाम गठबन्धनको कसरत जारी राखेको छ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि प्रधानमन्त्री हुने चाहना राखेका छन् । उनीभित्र रुपले माओवादी बाहेक साना दलको सहयोग लिएर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने गरी सिट मिलाउने रणनीतिमा छन् ।
त्यसो त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पार्टीलाई सरकार निमार्णको हैसियतमा पु¥याउन चाहन्छन् । उनले चुनावपछि कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री हुने बताइसकेका छन् ।
गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा ६० प्रतिसत सिट आफ्नो भागमा राख्ने कोशिस गरिरहेको छ । अर्कोतर्फ विगतमा एमालेसँग जोडिँदा ४० प्रतिशत भाग पाएको माओवाकदी त्यही अनुपातको दाबेदार देखिएको छ । एकीकृत समाजवादीले पनि सम्मानजनक भाग खोजिरहेको छ । उनले स्थानीय तह निर्वाचनमै अपमान भएको दुखेसो पोख्दै आएको छ ।
त्यसबाहेक जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि सिट मिलाएर चुनाव लड्न गठबन्धनका दलहरुलाई फलामको च्यूरा चपाउनु सरह देखिन्छ । कुन पार्टीले कति सिट पाउने निर्क्याैल भएपछि कहाँ कहाँ पाउने र कसलाई उम्मेदवार बनाउने भन्ने अर्काे जटिलता देखिन्छ ।
गठबन्धन मिलाएर मात्र हुँदैन पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउन पनि उत्तिकै चुनौतीपूर्ण छ । कसैलाई प्रधानमन्त्री बनाउन हुने अकंगणितको गठबन्धनलाई नेता, कार्यकर्ता र मतदाताले सहजै मत ट्रान्सफर गर्छन् भन्ने छैन ।