सत्तारूढ दलको बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव गरेका थिए । “अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक रहेका छन् । तर उनका सन्तान नागरिकविहीन हुनुपर्ने अवस्था रहेको छ”, सरकारका प्रवक्ता कार्कीले भने, “यसलाई अन्त्य गर्नका लागि नागरिकता विधेयक अगाडि बढाउने निर्णय भएको छ ।”
उनले प्रक्रिया पूरा गरेर चाँडै नै नागरिकता विधेयक संसद्मा पेश हुनेसमेत जानकारी गराए । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउनका लागि छलफल केन्द्रित भएको बताए । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालाले अहिलेसम्म भएको प्रगति विवरणबारेमा जानकारी गराएका थिए।
सरकारका प्रवक्ता कार्कीले बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमका बारेमा विश्लेषण भएको भन्दै महँगी नियन्त्रण गर्नेबारे पनि छलफल भएको बताए । मन्त्रिपरिषद् पुनर्गठनको कुरा नउठेको उनले बताए ।
बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति थियो ।