जनकपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले सम्बन्धित वडाहरुले नै आफ्नो क्षेत्रमा सफाइ गर्नु पर्ने पहिलो निर्णय गरेका छन्।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेर जितेपछि मंगलबार पदभार ग्रहणका क्रममा उनले पहिलो निर्णयका रुपमा नगर सफाइबारे गरेका हुन्।
’जनकपुरधाम उपमहानगरपालिकामा हाल सरसफाइ कार्य नगरकार्यपालिकाको कार्यालयद्वारा भइरहेकोमा अब उप्रान्त नगरका सबै वडाहरुमा आवश्यक जनशक्ति तथा सरसफाईका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयहरुलाई नै सरसफाईको जिम्मेवारी प्रदान गर्ने’, उनको पहिलो निर्णयमा भनिएको छ।
त्यसैगरी मेयर साहले जनकपुरधाम उपमहानगरपालिका महाशाखा शाखाहरुमा सम्बन्धित विषय विज्ञ (जुन कार्यका लागि नियुक्त गरिएको नगरकार्यपालिकाको कार्यालयका हो त्यही कार्य गर्ने गरी) हरुलाई व्यवस्थापन गर्ने निर्णय पनि लिएका छन्।
साहले अर्को निर्णयका रुपमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले सम्पन्न गर्ने कार्य पारदर्शी, निष्पक्ष, उत्तरदायी र सुशासनयुक्त बनाउन आवश्यक व्यवस्थापन गर्ने पनि उल्लेख गरेका छन्।