स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भएका हुन् ।
साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् ।
साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरेका थिए । सामाजिक अभियन्ताका रुपमा दरिनुभएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए ।
उनी प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए । एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन् । उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए ।