नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट खोसेका प्रल्हाद क्षेत्री महोत्तरीको बर्दिवास नगरपालिकाका मेयरमा निर्वाचित भएका छन्।
टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्री मेयरमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजु खड्कालाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका छन्।
क्षेत्रीले १४ हजार २१० मत ल्याउँदा माओवादी केन्द्रका खड्काले ८ हजार ३२३ मत प्राप्त गरेका छन्। एमालेका टेकबहादुर बलम्पाकी ३ हजार ५२६ मत प्राप्त गरेर तेस्रो स्थानमा सीमित भएका छन्। क्षेत्री कांग्रेसबाट २०७४ को स्थानीय तह निर्वाचन लडेका थिए। त्यतिबेला उनी माओवादी केन्द्रका बिदुर कार्कीबाट झिनो मतले पराजित भएका थिए।
त्यस्तै नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल १ हजार २६३ मतमात्रै प्राप्त गरेका छन्। कांग्रेसले उम्मेदवार बनाएको हमाल जमानत जोगाउनसमेत असफल भएका छन्। जिल्ला कार्यसमितिको सिफारिसमा प्रदेस समितिले क्षेत्रीलाई मेयरका लागि दिएको टिकट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले मनोनयन दर्ताका बेला खोसेका थिए।
१२ वैशाखमा क्षेत्री मनोनयन दर्ताका लागि पुगेका बेला देउवाले निर्वाचन अधिकृतको कार्यालय बर्दिवासलाई पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार हमाल रहेको पत्र पठाएका थिए। अन्तिम समयमा टिकट खोसिएपछि क्षेत्रीले प्यानेल बनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
बर्दिवास नगरपालिकाको उपमेयरमा पनि क्षेत्रीकै प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएकी तारा देवी निर्वाचित भएकी छन्। माओवादी केन्द्रकी कृष्णमाया गौतमलाई पराजित गर्दै तारा उपमेयरमा निर्वाचित भएकी हुन्। ताराले ९ हजार ७३६ मत प्राप्त गर्दा माओवादी केन्द्रकी गौतमले ८ हजार १८५ र एमालेकी दुर्गाकुमारी दाहालले ४ हजार ८०३ मत प्राप्त गरेकी छन्।उपमेयरकी कांग्रेस उम्मेदवार अमिनाकुमारी महतोले १ हजार ७८५ मत प्राप्त गरेकी छन्।