भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक १,७१२ मतले अघि रहेकी छिन् । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले १०४४९ मत प्राप्त गरेकी छिन् ।
नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८५९७ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ४५०४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ विजयी भए ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी डोलनारायण अधिकारीलाई ६१८ मत अन्तरले पराजित गरे । श्रेष्ठले दुई हजार ७३५ मत र नेकपा एमालेका अधिकारीले दुई हजार ११७ मत प्राप्त गरे । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भए भने वडा नं ३ मा एमालेका उम्मेदवार निर्वाचित भए ।
यस वडामा पाँच हजार ५८२ मत खसेको थियो । भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।
यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायम गरेको छ ।