नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कम्युनिष्टलगायतका तराई मधेशको क्षेत्रीय राजनीति गर्ने सबै दलका नेता अवसरबादी भएको आरोप लगाएका छन्।
महोत्तरीको जलेश्वर नगरपालिका दुर्गाचोकमा स्थानीय निर्वाचका सन्दर्भमा बिहिबार साँझ आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता निधिले कम्युनिष्ट पार्टीले सरकार र पार्टी दुबै संचालन गर्न नसकेको आरोप लगाए। उनले मधेशको राजनीति गर्ने दलहरु पनि सत्ता र शक्तिको स्वार्थमा छिन्नभिन्न भएको उल्लेख गरे।
परिवर्तित राजनीतिक व्यबस्था र त्यसबाट प्राप्त संविधानको जगेर्ना गर्ने दायित्व कांग्रेसको भएकोले आगामी स्थानीय निर्वाचनमा कांग्रेसलाई मत दिनका लागि नेता निधिले आग्रह गरे। उनले जनअधिकार र नगरको विकासका लागि कांग्रेस निर्बिकल्प दल भएको उनको भनाई थियो।
कांग्रेसका तर्फबाट जलेश्वर नगरपालिकामा मेयरका प्रतिस्पर्धी शम्भुनारायण पाठक बौद्धिक, इमान्दार र कल्पनाशील नेता भएकोले रुख चिन्हमा मत दिएर जिताएपछि जलेश्वरको आमूल परिबर्तन हुने नेता निधिले बिश्वास व्यक्त गरे।
कोणसभामा मेयर पदका प्रतिस्पर्धी पाठकले नगरपालिमा बिगतमा भएका कामको समीक्षा गर्नुपर्ने बेला आएको बताए। पाठकले आफूले जितेपछि जलेश्वरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनतालाई दोहोरो करको मारबाट मुक्ति दिइने उल्लेख गरे।
कार्यक्रममा उपमेयरका प्रतिस्पर्धी अनिता शर्मा, नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, पूर्ब केन्द्रीय सदस्य रामचन्द्र तिवारी, नेता बजरंग नेपाली लगायतका बक्ताहरुले जलेश्वरको विकासका लागि कांग्रेसका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिएका थिए।
जलेश्वरको कार्यक्रमअघि महोत्तरीको मनरा सिसवा नगरपालिकामा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता निधिले कांग्रेसका तर्फबाट मेयरका प्रतिस्पर्धी मोहन पाण्डेय जस्तो युवालाई जिताएर नगर विकासको ढोका खोल्नुपर्ने बताए। उनले कम्युनिष्ट र मधेशको क्षेत्रीय राजनीति गर्ने दलका नेताहरु आर्थिक अनियमिततामा संलग्न भएको भन्दै नगरको विकासका लागि कांग्रेसको बिकल्प नभएको उल्लेन गरे।
कार्यक्रममा मेयरका प्रतिस्पर्धी पाण्डेयले जनमतको सम्मान गर्दै आफूले काम गर्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि रुख चिन्हमा भोट हाल्न सबैसँग आग्रह गरे।