नेपाली कांग्रेसका पूर्ब उपसभापति विमलेन्द्र निधिले यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बिराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको बिजय सुनिश्चित भएको बताएका छन्।
१३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस मोरंगद्धारा बिराटनगर महानगरपालिका वडा नं १३ स्थित हडताली हाटमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपसभापति निधिले कांग्रेसका तर्फबाट अघि सारिएका मेयरका उम्मेदवार नागेश कोइरालालाई अत्यधिक मत दिएर बिजयी गराउन आग्रह गरे। अघिल्लो स्थानीय तहको निर्वाचनमा आफूले बिराटनगरमा एक सातासम्म बसेर कांग्रेसका उम्मेदवार भीम पराजुलीका पक्षमा मत मागेर विजयी गराउन सहयोग गरेको स्मरण गर्दै उनले यस पटक फेरी कांग्रेसलाई जिताएर बिराटनगरमा प्रजातन्त्रबादीको बिकल्प कोही नभएको सन्देश दिनुपर्नेमा जोड दिए।
कांग्रेस पूर्ब सभापति गिरिजाप्रसाद कोइरालाले राणा शासनबिरुद्ध मजदूर आन्दोलनको शुरुवात गरेको बिराटनगर जुट मिल नजिकै हडताली हाटमा आयोजित कार्यक्रममा नेता निधिले त्यस किसिमको पबित्र भूमिमा कांग्रेसको रुख चिन्हलाई आम मतदाताले कहिल्यै नभुल्ने बिश्वास व्यक्त गरे। जुट मिल नजिकैको बरको रुखलाई हेरेर कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले कांग्रेसको चुनाब चिन्ह रुख राखेको स्थानीयको बिश्वास छ।
नेता निधिले चुनाबको मुखमा गठबन्धन गर्नु ठीक कि बेठिक भनेर बहस गर्नुको कुनै औचित्य नभएको भन्दै मतदाताका घर घर गएर रुख चिन्हमा भोट भागेर कांग्रेसलाई बिजयी गराउन सबैलाई आग्रह गरे।
कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसका पक्षमा मतदान गर्न सबैलाई आग्रह गरे। उनले कांग्रेसले बिराटनगरमा जित हात पारेपछि हरेक वडामा श्रम डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेका केन्द्रीय सदस्यहरु महेश आचार्य, अमृत अर्याल, डीला संग्रौला, भीम पराजुली, मेयरका उम्मेदवार नागेश कोइरालासहित बिभिन्न वडामा उम्मेदवारहरुले कांग्रेसका पक्षमा मत दिन आग्रह गरेका थिए।