७ नम्बर प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी र नाम सुदूरपश्चिम प्रदेश राख्ने प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकले स्थायी राजधानी गोदावरी र नाम ‘सुदूरपश्चिम’ प्रदेश राख्ने प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको हो।
बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारालामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव पेश गरेका थिए। प्रदेशसभा सदस्य वीरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेका प्रस्तावलार्इ दुईतिहाईले बहुमतले स्वीकृत गरिएको घोषणा भएको गरिएकाे हाे।
तर, प्रदेश ७ को स्थायी राजधानी र नामाकरणबारेमा असहमति जनाउँदै आएको प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले प्रदेशसभाको बैठक बहिस्कार गरेका थिए। कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरेका थिए। राजधानी अनुपयुक्त स्थानमा भएको भन्दै उनीहरूले विरोध जनाउँदै बहिष्कार गरेका हुन्।
स्वीकृत भएको प्रस्ताव अनुसार स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्छ।
बिहान ११ बजेबाट सुरू भएको बैठक प्रतिपक्षी कांग्रेसको विरोधको कारण बीचमा स्थगित गरिएको थियो। दाेस्राे पटक बसेको बैठकमा पनि विरोधपछि बहिष्कार गरिएपछि सत्ता पक्षका प्रदेशसभा सदस्यको बहुमतबाट स्वीकृत गरिएको घोषणा गरिएको थियो। प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले संसदमै नाराबाजी समेत गरेका थिए। प्रदेशसभा रहेका कुल ५३ सांसदमध्ये १२ जना कांग्रेसका र २ जना राजपाका सांसद छन्।