राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
हेटौंडामा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो। गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।
तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् भने पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए। तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन्। पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात् २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे।
पराजित विपक्षी नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन्। उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन्।
एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरे। प्रदेशतर्फ ४७मत अर्थात् २ हजार २५६ मतभार गरी कुल ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए।
नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरिन्। काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन्। नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरेका थिए। उनले कुल ८४ मत भार प्राप्त गरे।
सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए। राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेको थियो। प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो। स्थानीयतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो।