निर्वाचन आयोगले ७ दिनभित्र मिति नतोके प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले स्थानीय तहकाे निर्वाचन गर्न कठिन हुने जनाएकाे छ। सर्वदलीय बैठकमार्फत सरकार र राजनीतिक दलहरूलाई माघ पहिलो साताभित्र स्थानीय निर्वाचनको मिति ताेक्न आयोगले ध्यानाकर्षण गराएको छ ।
‘स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुँदैछ । आयोगलाई निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्छ ।त्यसका लागि ५३ क्रियाकलापहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
शुक्रबारको सर्वदलीय बैठकमा नेकपा(एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), जनता समाजवादी पार्टी, नेपाली जनता दल, नेपाल परिवार दल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए ।
त्यस्तै, आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत सहभागी थिए ।