कांग्रेस केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी भएकी छिन्।
यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गर्नुभएको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो ।
कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ का (पुरुष) दुई पदमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् । शुक्रबार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना सुरु गरिएको हो ।
आइतबार बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य (३५) जनाको मतगणना सुरु हुने समितिले जनाएको छ । कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।