नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधिको समूहबाट प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता भएको हो।
देउवा समूहबाट जुम्लाका ललितजंग शाही, पौडेल समूहबाट कालीकोटका भूपेन्द्रजंग शाही र निधि समूहबाट कालिकोटकै मोतिराज बल सभापतिका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
यस्तै, प्रदेश उपसभापतिमा देउवा पक्षबाट कालीबहादुर सहकारी, सनतकुमार कार्कीले उम्मेदवारी दर्ता गराएका छन् भने पौडेल समूहबाट देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीको उम्मेदवारी परेको छ।
महामन्त्रीका लागि देउवा समूहबाट निरञ्जन केसी र कृष्णबहादुर रोकाय तथा पौडेल समूहबाट कृष्णकुमार बिसी र खगेन्द्रबहादुर मल्ल तथा गोविन्दबहादुर कोइरालाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन्। कोइराला कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट हुन्।
सहमहामन्त्रीमा देउवा पक्षबाट उपेन्द्रबहादुर थापा र एकराज डाँगी, पौडेल पक्षबाट नेत्रलाल पौडेल र जयनन्द उपाध्यायको उम्मेदवारी परेको छ। यसैगरी महिलातर्फको एक जना सहमहामन्त्रीका लागि देउवा पक्षबाट रामछाया कुमारी शाही र पौडेल पक्षबाट देवीका कुमारी सिंहको उम्मेदवारी परेको छ।
निधि समूहबाट उम्मेदवारी दिएका बमको प्यानलमा भने अन्य पदाधिकारी छैनन्। सो समूहबाट प्रदेशका १० वटा जिल्लाबाट सदस्यमा उम्मेदवारी परेको छ।