राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को नयाँ नेतृत्वका लागि चुनावी प्रक्रियामा प्रवेश गरेको छ। उद्घाटन र बन्द सत्र सकाउँदै राप्रपा निर्वाचन प्रक्रियामा होमिएको हो ।
जारी महाधिवेशनले नयाँ नीति र नेतृत्व चयन गर्ने भएको छ । आफूलाई बैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने राप्रपाको यो महाधिवेशनमा नीति भन्दा पनि नेतृत्व प्राथमिकतामा परेको छ।
राप्रपामा अध्यक्ष बाहेक अन्य पदाधिकारी चयनमा पहिलो पटक निर्वाचन हुन लागेकाले पनि प्रतिनिधिहरुको ध्यान नीति र छलफल भन्दा पनि नेतृत्वमा कसलाई ल्याउने भन्ने छ ।महाधिवेशनलाई नेतृत्व चयनको मात्रै मान्य परिपाटी केन्द्रदेखि गाउँ तहसम्मै छ ।
तर, यो पटक निर्वाचन मार्फत नेतृत्व चयन गर्नुपर्ने भएपछि राप्रपामा नीति भन्दा नेतृत्व प्राथमिकतामा परेको छ। यदि महाधिवेशनमा नेतृत्वकै रस्साकस्सी गर्नुपर्ने थियो भने बिधान अधिवेशन पहिले नै सम्पन्न गरेर महाधिवेशनमा होमिनुपर्ने थियो ।जसले गर्दा पार्टीको नीति र नेतृत्व चुन्न सघाउ पुर्याउँथो भन्ने कतिपयको भनाई छ ।
अहिले अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रेका छन् ।महाधिवेशनले अध्यक्ष,उपाध्यक्ष,महामन्त्रीसहित १४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। १ अध्यक्ष,४ उपाध्यक्ष,३ महामन्त्री निर्वाचित गर्नेछ। राप्रपाको विधान अनुसार महाधिवेशनबाट निर्वाचित अध्यक्षले ७ जना सहमहामन्त्री,७ जना सहायक महामन्त्री,१ जना कोषाध्यक्ष,प्रवक्ता,सहप्रवक्ता र सहायक कोषाध्यक्ष मनोनित गर्नेछ।
राप्रपाले अध्यक्ष बाहेकको निर्वाचनमा विद्युतीय मतदान गर्ने भएको छ। १ सय ९९ सय केन्द्रीय कार्यसमिति मध्ये १४९ जना निर्वाचनबाट र ५० जना अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
अध्यक्षसहित दुई प्यानल नै प्रतिस्पर्धामा उत्रेका छन् । थापाको तर्फबाट उपाध्यक्षका लागि बुद्धिमान तामाङ,भास्कर भद्रा,महामन्त्रीमा रोशन पाण्डे,भुवन पाठक र कुन्ती शाहीले उम्मेदवारी दिने तयारी गरेका छन् ।
यसैगरी लिङ्देनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे,लिलविकासलाल भण्डारी,रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्रीमा धवलशमशेर जबरा र रेखा थापाले उम्मेदवारी दिने भएका छन् ।
हिन्दु राष्ट्र,प्रजातन्त्र सहितको राजतन्त्रको पुनःस्थापनालाई प्रमुख एजेन्डा बनाएको राप्रपाले महाधिवेशनबाट जनतालाई आकर्षित गर्ने नीति,विधि र एजेण्डा ल्याउनु पर्ने प्रतिनिधिहरुको सुझाब छ । केबल नेतृत्वको कुरा गरेर नीति छाड्ने हो भने राप्रपा अगाडि बढ्न नसक्ने कार्यकर्ताको तर्क छ ।
बिहीबार मतदाता नामावली टुङग्याएर मतदानमा जानुपर्ने भएको भएपनि मतदाता नामावलीमा विवाद हुँदा निर्वाचन प्रक्रियामा ढिलाई भएको हो ।