सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र पछिल्लो समय प्रधानन्यायाधीश विरामी भएकोले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष गठबन्धनले निकालेको छ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका सहभागी थिए।