नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन अब एक हप्ता मात्रै बाँकी छ। महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र इतर पक्ष रणनीति बनाउन व्यस्त छन्। दुबै पक्षमा सभापतिका आकांक्षी धेरै छन्।
पार्टी सभापति शेरबहादुर देउवा आफैं सभापतिका आकांक्षी हुन् । यही समूहमा रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
त्यस्तै गोपालमान श्रेष्ठले पनि सभापतिमै आकांक्षा राखेका छन् ।निधि र श्रेष्ठलाई नमिलाए देउवालाई अप्ठयारो पर्न सक्छ । तर उनीहरुलाई मिलाउन सभापति देउवालाई सहज छैन ।
यता सभापति देउवालाई भन्दा बढी सकस वरिष्ठ नेता रामचन्द्र पौडेललाई छ। पौडेल आफै सभापति बन्न चाहन्छन् तर उनकै समूहमा रहेका महामन्त्री शशांक कोइराला,प्रकाशमान सिंह र शेखर कोइरालाले पनि सभापतिमा दावी गरेका कारण चुनौती छ ।
विगतमा सभापति देउवालाई साथ दिँदै आएका निधि यसपटक आफैं सभापतिमा दाबी गरेर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । देउवा समूहकै कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि यसपटक सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनमा आधा दर्जन सभापतिका उम्मेदवार हुने प्रष्टै देखिन्छ ।
तर, यस पटक भने अहिलेसम्म कुनै पनि समूहले प्यानल घोषणा गरिसकेको छैन। व्यक्तिगत रुपमा छिटपुट उम्मेदवार घोषणा गरिरहेका छन् । यो पटक कांग्रेस नेताहरुले विगतको परम्परा तोडेर व्यक्तिगत रुपमा प्रतिस्पर्धा गर्ने देखिएको छ ।
तल्लो तहमा भएका अधिवेशनको नतिजाले पनि त्यसैलाई नै संकेत गरेको छ।देउवा र पौडेलकै कारण गुट बनेको अवस्थामा यसपटकको महाधिवेशनमा हुने व्यक्तिगत प्रतिस्पर्धाले गुट समाप्त पार्न भूमिका खेल्न सक्ने बताइएको छ।
दलहरुभित्रको गुट भत्काउन सहयोग गरे त सकारात्मकनै हो तर महाधिवेशनपछि सभापतिका दाबेदारहरुले पुनः अर्काे गुटको नेतृत्व गर्ने अवस्था आयो भने त्यसले नेपाली कांग्रेसलाई कमजोर पार्ने देखिन्छ ।