माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् ।
भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने बताए । राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने बताएका हुन् ।
प्रचण्डले भने,‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ,‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’
पार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै प्रचण्डले एमालेप्रति व्यङ्ग्य समेत गरे।
त्यस्तै उनले राजतन्त्र फाल्न भूमिका निर्वाह गर्ने व्यक्तिले राजतन्त्रलाई राष्ट्रवादी भनेको भन्दै मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लागेको हो कि भनेर कटाक्ष पनि गरे ।