एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको अबको राजनीतिक यात्रा कठिन हुने देखिएको छ ।
महाधिवेशनबाट बिना प्रतिस्पर्धा अध्यक्ष बन्न लक्ष्य बोकेर चितवन पुगेका ओलीले महाधिवेशन प्रतिनिधिलाई बिबेकको बन्दी बनाएपछि त्यसको आलोचना खेप्नु परेको थियो ।
स्वयं ओली निकट भनिएकाहरु पनि ओली प्रबृतिदेखि वाक्क भएर भोट नहाली काठमाडौं फर्के ।
टिके प्रथाले कतिपय कर्मठ कार्यकर्ताको चित्त दुखेको छ । ओलीकै अहंका कारण आज पार्टी भित्र उनकै लागि मरिमेट्नेहरु गुटबन्दीमा लाग्ने देखिन्छ ।नेकपा भंग संसद विघटन र पार्टी विभाजनको अपजस खेपेका ओलीकै कारण एमाले अहिले केन्द्र र प्रदेश सरकारबाट बाहिरिनु परेको छ।
सत्ता गठबन्धन पाँच दलले केन्द्र,प्रदेश र स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने भनेकाले पनि नेतृत्व सम्हालेका ओलीका लागि अप्ठयारो पर्ने निश्चित छ ।
झन्डै चार दशक सँगै राजनीतिक यात्रा गरेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि ओलीलाई दोस्रो पटक अध्यक्ष हुन सहज भएको हो ।
ओलीको राजनीतिक यात्रा २०२८ सालको झापा आन्दोलनबाट भएको थियो । गुटगत राजनीतिमा चतुर खेलाडी ओलीलाई कतिपय आफ्नै निर्णयले अप्ठयारोमा पार्याे ।
पार्टी भित्र निकै अप्ठयारोमा परेपछि ओलीले दुई पटक संसद विघटनको सिफारिस गरे तर त्यो अदालतले अवैध ठहर गर्दै पुनःस्थापनाको निर्णय गरिदियो ।
उनले एमालेलाई फुटबाट जोगाउन भने सकेन। पार्टी बिभाजनपछि ओलीको एकछत्र राज थियो । उनको आलोचना गर्ने पार्टीमा टिक्क समेत नसक्ने परिस्थिति बनाइएकाले अध्यक्षमा उनी दोहोरिनेमा कुनै संका थिएन ।
सत्ता राजनीतिमा एक्लिएका तर पार्टीभित्र हावि भनेका ओलीले एमालेलाई लोकतान्त्रिक चरित्रमा स्थापित गर्छन् कि आदेशमा चल्ने पार्टी बनाउँछन् त्यो समयक्रमसँगै बिस्तारै देखिनेछ ।
यता,पार्टीलाई सुदृढ गर्ने अठोटका साथ अध्यक्षमा चुनाव लडेका डा भीम रावलले हारे पनि उनको शिर उचो भएको छ । पार्टीभित्रको लोकतान्त्रि प्रक्रियालाई बन्दी बनाउन खोजेका ओलीलाई समेत प्रतिस्पर्धाको राजनीतिमा होमिन उनले बाध्य तुल्याए ।
रावलको यो कदमलाई पार्टीका धेरै नेताहरुले सकारात्मक रुपमा लिएका छन् । प्रतिस्पर्धामा उत्रिएपछि अंकको आधारमा हारजीत अवश्य हुन्छ ।तर ओलीको आदेशको शिरोप गरेर बसेकाहरुबीचबाट उनले त्यति मत फुत्काउनु पनि धेरै ठूलो कुरा हो ।