चितवनमा जारी नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै केपी ओलीको निर्देशनममा प्रतिनिधिहरूलाई पर्चा बाँडिएको छ।
भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई बाँडिएको जुन पर्चामा पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत उल्लेख छ।
भोट नहाल्न भन्दै बाँडिएको पर्चामा उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यको नाम उल्लेख छ।
यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ।
सर्बसम्मतको नामावली अध्यक्ष ओलीले पढेर सुनाएपछि त्यसमा असहमति जनाउँदै रावलसहितका नेताहरुले उम्मेदवारी दिएका हुन्। अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा भएको छ। यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँडेका कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए।