राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा पुनःअध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उर्जाशील नेतृत्व, गतिशील र वैकल्पिक शक्ति निर्माणका लागि भन्ने नारासहित आयोजना गरिएको उक्त घोषणा सभामा उनले पार्टीलाई कहिल्यै विभाजन हुन नदिने संकल्पका साथ उम्मेदवारी दिन लागेको घोषणा गरे।
अध्यक्ष थापाले भने, “पार्टीका केही काम बाँकी छाडेर पलायन हुने अनुमति आफूलाई नभएकाले उम्मेदवारी दिन लागेको हुँ, एकता महाधिवेशनलाई नाम मात्रका लागि होइन, मन, बचन र कर्मले पनि एकताबद्ध तुल्याउनुपर्छ, पार्टीमा एकता, सद्भावना र सहमतिको सन्देश दिनपर्छ ।” विसं २०४७ मा गठन भएको राप्रपा र राप्रपा नेपालमा अध्यक्ष थापासँग केन्द्रीय सदस्य र अध्यक्ष तीन–तीन पटक भएको अनुभव छ ।
अध्यक्ष थापाले भने, “नेपालको भूराजनीतिक धरातलका आधारमा राजतन्त्रसहितको प्रजातन्त्र र सनातन हिन्दुअधिराज्यका मुद्दालाई प्रखररुपमा अघि बढाइनेछ, त्यसको आधार तयार भएपछि पार्टीको जिम्मेवारीबाट विश्राम लिनेछु ।”
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
डा. लोहनीले अहिलेको तीनैजना अध्यक्षले दोहोर्याउन नहुने भन्दै नेतृत्व नयाँ पुस्तामा दिनुपर्ने बताए ।विसं २०६२/६३ को जनआन्दोलनपछि भएको संविधानसभामा २५ सदस्य पठाएर संविधान निर्माणमा योगदान पु¥याएको राप्रपाको हाल प्रतिनिधिसभामा राजेन्द्र लिङदेनले प्रतिनिधित्व गर्दै आएका छन् ।