नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएकाे छ । उनीहरु दुईजनाले निर्वाचन कार्यतालिका अनुसार साेमबार उम्मेदवारी दर्ता गराएका थिए ।
एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा रावलले उम्मेदवारी फिर्ता नलिने बताएपछि निर्वाचनमा धकेलिएकाे हाे । यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् । यसबाहेक सबै पदमा यसअघि घोषणा भएबमोजिम उम्मेदवारी परेकाे छ ।
बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल रहेकी छिन् । उनीहरु सबैले उम्मेदवारी निर्वाचनका लागि दिएका छन्।
बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिँउसो १२ः०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र राती ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ । एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो ।
उनले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए । उनले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका छन् ।