नेपाली कांग्रेस धनुषा क्षेत्र नं ३ बाट पार्टी उपसभापति विलमेन्द्र निधि लगायतका सबै महाधिवेशन प्रतिनिधि सर्बसम्मत चयन भएका छन्।
आइतबार सम्पन्न अधिबेशनबाट क्षेत्रीय सभापतिमा धीरेन्द्र निधि चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा उपसभापति निधि, प्रदेश नं २ संसदीय दलका नेता एवं मन्त्री रामसरोज यादव, सांसद स्मृतिनारायण चौधरी, प्रदेश सभासद शिवचन्द्र चौधरी चयन भएका छन्।
यसैगरी, कन्हैया कर्ण, प्रफुल्ल घिमिरे, बजरंग साह, जीवनाथ चौधरी, किशोरी साह, संजय गुप्ता, रामबाबु यादव, दिनेशचन्द्र दिपक, गणेश तिवारी, सुरेन्द्र चौधरी, दिगम्बर राय छन्।
अन्य महाधिवेशन प्रतिनिधिमा अनामिका निधि, मिनाक्षी झा, निलम कर्ण, सम्झना वर्मा, विजेता झा, प्रमिला दास, मो.सोएब, धनिकलाल दास र मिनु केसी पनि सर्बसम्मत चयन भएका छन्।
यसैबीच, उपसभापति विमलेन्द्र निधिले कांग्रेसको बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताएका छन् । धनुषा क्षेत्र–३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन आफू सभापति बन्न खोजेको उल्लेख गरे ।
“अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत नपाउँदा कम्युनिष्टको सरकार बन्यो, तीन वर्षभित्रै कम्युनिष्ट सरकारले मुलुकलाई सधैं अस्थिर बनाउँदै तहसनहस पारेको अवस्था छ । कांग्रेसको एकल सरकार बनाउन म सभापति बन्न चाहेका हुँ”, उनले भने, “संविधानले प्रदेश प्रहरीको व्यवस्था गरेको छ, निजामती सेवाको अधिकार दिएको छ तर यी सबै अधिकार प्रदेशले प्रयोग गर्न पाइरहेका छैनन् । प्रदेशको अधिकार सुनिश्चित गर्नतर्फ अहिलेसम्म कसैले ध्यान दिनसकेको छैन । त्यसका लागि पनि म सभापति बन्न चाहेको छु ।”
उपसभापति निधिले मधेशी, दलित, जनजाति, मुस्लिमलगायत उत्पीडित वर्गको अधिकार सुरक्षित गर्न संविधान संशोधनमा जोड दिए ।