बरिष्ठ अधिवक्ताको उपाधि दिने प्रमुख एजेण्डासहित भोलिका लागि तय गरिएको फुलकोर्ट बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशले नबस्ने निर्णय गरेका छन्।
आइतबार दिउँसो प्रधानन्यायाधीशसँग नेपाल बारको छलफलले भोलि फुलकोर्ट राख्ने तय गरेलगत्तै सर्वोच्चका १४ जना न्यायाधीशले यस्तो निर्णय गरेका हुन्। १४ जना न्यायाधीशबीच भोलि बिहान ११ बजे यस बिषयमा पुनः छलफल हुनेछ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले राज्यका कार्यकारी शक्तिसँग भागबण्डा खोजेर स्वतन्त्र न्यायपालिकामाथि निष्पक्षतामाथि खेलवाड गरेपछि उनको राजीनामा माग हुन थालेको छ। पछिल्लो समय उनले बारलाई आफ्नो पक्षमा ल्याउनका लागि बरिष्ठ अधिवक्ताको उपाधि दिने प्रस्ताब फुलकोर्टको बैठकको एजेण्डा बनाएका हुन्।
न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले बारको बैठकमा उपस्थित नहुने निर्णयमा सामेल थिए।