सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो बनेको छ।
आइतवार थप तीन सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। यो सँगै एकीकृत समाजवादी रोज्ने सांसदको संख्या आइतवार १३ पुगेको छ। यसअघि एमालेका १० प्रदेश सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए।
आइतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
यससँगै सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका १२ सांसद मात्रै कायम भएका छन्। यहाँ माओवादी केन्द्रका १३ सांसद छन्। कांग्रेसका १२ सांसद छन् भने जनता समाजवादी नेपालका दुईजना।