बागमती प्रदेशमा नेकपा एमालेले बहुमत गुमाएकाे छ । एमालेका ५६ सांसदमध्ये १२ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।
मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ५६ सांसद थिए । १२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ ।
कृष्णप्रसाद खनालसहित १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । सनाखत गराउने अन्य सांसदमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका छन् ।
निर्वाचन आयोगले नयाँ पार्टीमा जान इच्छुक प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूका लागि २२ गतेसम्मको समयसीमा तोकेको छ ।