पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले २०७४ सालको आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन नगरेको भए एमालेले ५० सिट पनि नजित्ने दाबी गरेका छन्।
माधवकुमार नेपाल अध्यक्ष रहेको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता पाण्डेले शनिबार धादिङमा बोल्दै यस्तो बताएका हुन्। तर कार्यक्रम भने युवा संघ नेपालकै व्यानरमा गरिएको थियो।
नेकपा एकीकृत समाजवादीनिकट युवा संगठनको प्रथम विस्तारित बैठकमा बोल्ने क्रममा उनले माओवादीसँग एकता गर्नेगरी गठबन्धन बनाइँदा एमालेले अत्यधिक सिट जितेको दाबी गरेका हुन्।
‘माओवादीसँग गठबन्धन नगरेको भए एमाले ५० सिटमा खुम्चिने थियो', उनले भने, ‘माओवादीसँग गठबन्धनले प्रत्यक्षतर्फ ८० सिटसहित एमालेले १ सय २१ सिट जितेको हो।'
माओवादीसँगको गठबन्धन र त्यसपछिको एकताबाट एमाले बलियो बनेको कुरा अध्यक्ष केपी शर्मा ओलीले नस्वीकारेको पनि उनले गुनासो गरे।
‘चुनावी गठबन्धन र एकताबाट नै हामी शक्तिशाली बनेको कुरा ओलीले कहिल्यै स्वीकारेनन्', उनले भने, 'एउटा गुटको नेतृत्व गरेर मनोगत रुपमा ओलीले पार्टी चलाउँदा कम्युनिष्ट आन्दोलनले ठूलो क्षति भोग्नुपरेको छ।’