लुम्बिनी प्रदेशका नबनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई बिहीबार शपथ गराएका हुन्।
मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।
७ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र सांसद अजय शाही मन्त्री बनेका छन्।
चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।