सडकमा बत्ती राख्ने नाममा जनकपुर उपमहानगरपालिकामा आर्थिक अनियमितता भएको पाइएको छ।
वडा अध्यक्षहरुले दशैं, तिहारजस्ता मुख्य चाडपर्वमा शहर झिलिमिली बनाउँन सडक बत्तीको प्रस्ताव गरेपछि उपमहानगरपालिकाले खरिद गरेको बल्ब लगायतका सामग्रीमा अनियमितता भएको पाइएको हो । बजारमा २ सय ८० रुपियाँमा पाइने बल्ब नगरपालिकाले ४ सय ७५ मा किनेको छ ।
उपमहानगरपालिकाले हालसम्म ८५ लाख रुपियाँभन्दा बढीको सडकबत्ती किनिसकेको छ । खरिद प्रक्रिया र खर्चको विवरण तयार भइनसकेको उपमहानगरपालिको भनाइ छ । तर, सडक बत्ति जडानमा ८४ लाख ९८ हजार ३ सय ४५ खर्च भएको विवरणमा उल्लेख छ ।
स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि कोटेसनका माध्यमले जनकपुरको इन्टरप्राइजेजबाट सामान खरिद गरिएको र विभिन्न वडामा वडाध्यक्ष र वडा सचिवमार्फत सडकका पोलमा बल्ब जडान गरिएको थियो । स्थानीय सत्या इन्टरप्राइजेजका सञ्चालक मनिष मिश्रासँग गरिएको सम्झौताअनुसार १४ वाटको प्रति एलईडी बल्ब ४ सय ७५ रुपियाँ, १ एमएम (मिलिमिटर) मोटाइको तार १ हजार ६ सय रुपियाँ प्रतिक्विन्टल, डेढ एमएम मोटाइको तार २ हजार ५ सय रुपियाँ प्रतिक्विन्टल, बेरिएको तार ९ सय ५० प्रतिक्विन्टल तथा ६ एमएमको तार प्रतिमिटर ४५ रुपियाँमा खरिद गरिने दरभाउमा उल्लेख छ । बल्बमा लगाइने आल्मुनियम क्याप प्रतिथान १२५, होल्डर प्रतिथान ३६, बेडस्वीच ३० मा खरिद गरिने सम्झौता गरिएको थियो ।
खरिद गरिएका सामानको मूल्य बजार भाउभन्दा धेरै महंगो भएको पाइएको छ । उपमहानगरले १ वर्षको वारेन्टीमा ४ सय ७५ मा किनेको बल्ब जनकपुरका पसलमा २ वर्षको वारेन्टीमा खुद्रा किन्दा पनि २ सय ८० मा पाइन्छ । थोकमा खरिद गर्दा योभन्दा पनि कम मूल्यमा पाइन्छ ।
एलइडी बल्ब खरिदमा एक वर्ष वारेन्टीको सम्झौतामा भए पनि अधिकांश बल्ब चाँडै नै बिग्रिसकेका छन् । चर्को मूल्यका बल्ब केही दिनमै बिग्रिन थालेपछि सर्वसाधारण मात्र होइन, स्वयं नगरप्रमुख लालकिशोर साहआबद्ध दल राजपाका नेताहरुले नै सडक बत्तीमा व्यापक भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
राजपा नेपाल धनुषा संयोजक सतिशलाल दासका अनुसार मेयर साहको काममा धेरै भ्रष्टाचार भएको भन्दै सर्वसाधारणदेखि पार्टीकै कार्यकर्ताले दिनहुँजसो गुनासो गरेका छन् । राजपा धनुषाका सचिव धिरेन्द्रबहादुर सिंहले भने, ‘मेयर साहले लुटतन्त्र मच्चाएका छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा पनि भ्रष्टाचार भएको उल्लेख गर्दै सचिब सिंहले सडक बत्तीमा मेयर साहले भ्रष्टाचार गरेको पुष्टि भइसकेको उल्लेख गरे । मेयरका कारण पार्टीसमेत बद्नाम भएको भन्दै छानविन प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।