नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढलाउन मूख्य भूमिका खेल्ने माधव कुमार नेपाललगायतलाई पार्टीभित्र कुनै ठाँउ नरहेको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बरिष्ठ नेता नेपाल लगायत केही नेतालाई पार्टीमा कुनै ठाँउ नरहेको बताए।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको भन्दै फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको उल्लेख गरे।
त्यस्तै ओलीले आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने जिकिर गरे। उनले अदालतको फैसलापछि आफूहरू पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपालसहितका केही नेताहरूले एमाले छाडेको तर्क गरे।
उनले प्रतिक्रियावादी शक्तिहरूसँग मिलेर एमालेको सरकार ढालेको र प्रतिगनमनमा सहभागी भएर कांग्रेस नेतृत्वको दक्षिणपन्थी सरकार बनाएको आरोप लगाए। ओलीले आफु नेतृत्वको सरकारले असाधारण विकास गरेको देखेर बिपक्षीहरु अतालिएको दाबी गरे।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने प्रष्ट पारेका छन्।
शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्।
उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गरे। नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गरे। नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरु चुप लागेर नबस्ने प्रष्ट पारे। सर्वोच्च अदालतले गलत काम सच्चाइएको स्मरण गर्दै उनले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने टिप्पणी गरे।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहंकारले मान्छेलाई पतनको बाटो डोहो¥याउने बताए। उनले अव नेपालमा राजतन्त्र फर्काउने दिवास्वप्त नदेख्न चेतावनी दिए।
कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताइन्। भेला अघि अखिल फोर्सले काठमाडौंमा बृहत मोटरसाइकल र्याल निकालेको थियो।