नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्बमहामन्त्री प्रकाशमान सिंहबीच पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिका बिषयमा छलफल भएको छ।
नेता सिंहको निवास चाक्सीबारीमा शनिबार दिउँसो झण्डै दुईघण्टा लामो अनौपचारिक छलफल भएको थियो। भेटमा पार्टीको महाधिवेशन र समसामयिक राजनीतिका साथै कोभिड १९ को रोकथामलगायतका बिषयमा पनि छलफल भएको बताइएको छ।
कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा दोस्रो पुस्ताका निधि, कोइराला र सिंहबीच भएको यो चौथो छलफल हो। तीनैजना कांग्रेसका संस्थापक नेताका छोरा हुन्। निधिले असार ७ गते आफ्नो निवास बानेश्वरबाट यो भेटघाट र छलफल शुरु गराएका हुन्।
निधिले १४ औं महाधिबेशनमा सभापतिको उम्मेद्वार घोषणा गरिसकेका छन्। त्यसो त कोइराला र सिंह पनि सभापतिका प्रत्यासी हुन्।