जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधान पारित गरेको छ।
पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकले दलको विधान पारित गर्दै दलको नेता चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
दलको नेता चयन प्रक्रियाका लागि जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ रहेको समिति समेत चयन गरेको जसपा नेता डम्वर खतिवडाले जानकारी दिए। त्यस्तै, बैठकले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ।
बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीको अनुशासन उलंघन गरेको भन्दै पदरिक्त हुने गरी प्रदेशसभा सदस्यबाट कारबाही गरेको नेता खतिवडाले जानकारी दिए। बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको खतिवडाले जानकारी दिए।
बैठकले निर्वाचन आयोगमा सनाखतमा सहभागी भएका ३४ सदस्य नै पार्टीको कार्यकारिणी सदस्य कायम रहने गरी पार्टीको कामकारवाही अघि बढाउने निर्णय गरेको छ। जसपाको बैठक बुधबार पनि बस्दैछ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने बताइएको छ।