कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले फेसबुकमार्फत सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णय सच्याउन सल्लाह दिएका छन्।
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्ति र गण्डकी प्रदेशमा प्रस्ताबित मन्त्री डोबाटे बिश्वकर्माको नाम हटाएर पोखराका व्यापारी बिन्दु थापालाई मन्त्री बनाएर चौतर्फी आलोचना भएपछि महामन्त्री खड्काले सभापतिलाई निर्णय सच्याउन भनेका हुन्। खड्का केही दिनअघि मात्रै प्रधानमन्त्री देउवाले सरकार संचालनका लागि गठित कार्यदलको प्रमुख हुन्।
गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको हैसियतमा सरकार विस्तारका क्रममा दलित समुदायबाट मन्त्रीका आकांक्षीको सूचिमा रहेका डोबाटे विश्वकर्माको नाम हटाएर प्रधानमन्त्री देउवाको दबाबमा व्यापारिक पृष्ठभूमिका विन्दु थापालाई मन्त्री बनाएपछि नेता, कार्यकर्ताले नेतृत्वको आलोचना गर्दै आएका थिए। गण्डकीको आलोचना सेलाउन नपाउँदै प्रधानमन्त्री देउवाले आइतबार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए। जसको व्यापक आलोचना भएपछि महामन्त्री खड्काले फेसबुकमा असन्तुष्टि पोखेका हुन्।
संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आश्रम ललितपुर बाँडेगाउँको तस्विरसँगै राखिएको स्टाट्समा महामन्त्री खड्काले गण्डकी प्रदेश र संघीय सरकार विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका प्रतिक्रियाबाट पाठ सिक्दै सच्चिन र भविश्यमा यस्ता गल्ती नदोहोर्याउने भरपर्दो विश्वास कायम गराउन पनि नेतृत्वलाई सुझाब दिएका छन्।
उनले सभापति देउवा र पार्टी पदाधिकारीको तर्फबाट केन्द्र र प्रदेश सरकार विस्तारका क्रममा भएको कमजोरीप्रति महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग क्षमा समेत मागेका छन्।
कार्यदलको संयोजक भएर प्रधानमन्त्रीलाई निर्णय लिनुअघि सल्लाह दिनुभन्दा निर्णय लिइसकेपछि आलोचना गरेकोले महामन्त्री खड्काले असहयोगी भूूमिकाप्रति स्वयं देउवा रुष्ट भएको बालुवाटार स्रोतको भनाई छ।