सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन मात्र ३६ दिन बाँकी छ। तर ३८ दिन बाँकी हुँदा शनिबार बसेको पदाधिकारी तथा पूर्ब पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने भनिएको वडा अधिबेशन स्थगित गर्ने निर्णय गर्यो। समय अभाब र कोरोनाको कारण देखाउँदै वडा अधिवेशन स्थगित गरिएको थियो। पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन नसर्ने गरी वडा अधिबेशन स्थगित गर्ने निर्णय गरेको थियो।
सो निर्णयपछि क्रियाशील सदस्यता छानवीन समितिले मंगलबार बिहान ९ बजे बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ। देउवा निवास बुढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा समितिले सदस्यता टुंगो लागेका जिल्ला र केही बिबाद देखिएका जिल्लाको प्रतिबेदन बुझाउने छ। समितिले टुंगो लगाउन नसकेका बिबादलाई पदाधिकारीले टुंगो लगाउने बताइएको छ।
कांग्रेस उच्च स्रोतका अनुसार स्थगित गरिएको वडा तहको अधिबेशन साउनको २२, २४ गतेतिर गर्ने गरी प्रस्ताब गर्ने तयारी भइरहेको छ। यसरी वडा अधिबेशन सम्पन्न भएपछि छोटो समयको ग्याप राखेर पालिका तथा क्षेत्रीय अधिबेशन गर्न सकिने तर्क पनि गरेका छन्। यसो भएमा तोकिएकै समयमा भदौ १६ मा महाधिबेशन गर्न सकिने उनीहरुको बिश्वास छ।
एकातिर यस्तो छलफल भए पनि समय अभाबलाई मूल कारण देखाएर महाधिवेशनको तिथि पर सार्नेबारे कतिपय सदस्यहरुबीच छलफल भइरहेको बताइएको छ। कतिपयले वडा तहको अधिबेशन शुरु भएपछि महाधिबेशन प्रकृया अघि बढेको हुने तर्क अघि सारेका छन्। यसमा संस्थापन र पौडेल समूहका कतिपय नेताहरु सहमत छन्।
तर महाधिवेशनको पूर्बसन्ध्यामा कोही पनि त्यसको अपजस लिने पक्षमा छैनन्। अर्थात् बिरालोको घाँटीमा कसले घण्टी झुण्ड्याउने भन्ने नै कांग्रेसभित्रको अहिलेको प्रमुख समस्या हो।